काठमाडौं मंसिर ६
गत कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले उत्साहजनक व्यापार गरिरहेको छ । सिनेमाले पहिलो हप्ता साढे ५ करोड हाराहारीमा व्यापार गर्ने देखिएको छ । प्रदर्शनको ५ दिनमा ४ करोड २९ लाख ग्रसकलेक्सन गरिसकेको छ ।
बुधबार पनि देशभरका सिनेमा हलमा राम्रो व्यापार गरेको निर्माण टिमले जानकारी दिएको छ । आज बिहीबार पनि राम्रो व्यापार गरिरहेको हुनाले सिनेमा बुधबार र बिहीबार डेढ करोड हाराहारीमा व्यापार पर्ने अपेक्षा बितरक कम्पनि ब्यंकटेश इन्टरटेनमेन्टको छ । यो सँगै सिनेमाले पहलो हप्ता साढे ५ करोड हाराहारीमा पुग्ने भएको हो ।
दोस्रो हप्ता पनि सिनेमाले राम्रो शो पाएकाले उत्साहजनक व्यापारलाई निरन्तरता दिने विश्वास निर्माण टिमलाई छ । बुधबार नेपालगञ्ज पुगेर दर्शकसँग साक्षात्कार गरेको निर्माण टिम दोस्रो हप्तामा मोफलसका विभिन्न शहरमा पुगेर दर्शक प्रतिक्रिया लिने तयारी गरेको छ । दर्शक नै हाम्रो भगवान हुन् त्यसैले पनि उहाँहरुसँग साक्षात्कार गर्नु हाम्रो पहिलो प्रथामिकता रहेको निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना बताउँछिन् ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।