मेलबर्न, २० कात्तिक
अष्ट्रेलियाको मेलवर्न सहरमा एक साताको अवधिमा दुई नेपाली युवाको निधन भएको छ । एक युवाको सडक दुर्घटना र अर्कोको आगलागीमा परेर ज्यान गएको हो ।
मेलबर्नको सेन्ट अल्बान्स क्षेत्रमा बसोबास गर्दै आएका काठमाडौंका विशाल केसीको आगलागीबाट परी मृत्यु भएको छ । उनी बस्दै आएको घरमा भाइटीकाको दिन आगलागी भएको थियो ।
अर्को घटनामा चितवन घर भई भिक्टोरियाको बालाराटमा बस्दै आएका निशान्त सिंहको मृत्यु भएको छ ।
सिंह चढेको कारलाई अर्को कारले ठक्कर दिएको थियो । दुर्घटनापछि उनलाई तत्कालै एयर एम्बुलेन्समार्फत नजिकैको अस्पतालमा लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए । उनी काठमाडौंको चावहिलका बासिन्दा हुन् । पछिल्लो समय सिभिल इन्जिनियरका रूपमा एक अष्ट्रेलियन कम्पनीमा कार्यरत थिए ।
एनआरएनका प्रवक्ता बबिन मिश्रले दुवै घटनामा परेका नेपालीको आफन्त सम्पर्कमा आइसकेको बताएका छन् । शव नेपाल पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।