भरतपुर कार्तिक १४
भरतपुरमा रहेको स्टार्स मन्टेश्वरी एकेडेमी र एभरेष्ट प्रिस्कुलले तिहार विशेष कार्यक्रम मनाएको छ ।
कार्यक्रममा स–साना बालबालिकाहरूले परम्परागत तिहारको विधि सिक्ने मौका पाएका छन् भने कार्यक्रमको मुख्य आकर्षण भाइ टीका थियो, जहाँ ठुला उमेर समुहका नानीहरूले साना उमेर समूहका बाबुहरूलाई सम्पूर्ण रीतिरिवाजअनुसार टीका लगाउन सिकाइयो र भाइ मसला, सयपत्री फूलको माला, ओखर फुटाउने, तोरीको तेलको घेरा बनाउने, कुशका टुक्रा टाउकोबाट चारैतिर फ्याक्न, तेल बाबुहरूको टाउकोमा लगाउने र बाबुहरूलाई ढाकाटोपी लगाउने आदि विधि सिकाइएको मालपोत चोक शाखाका प्रबन्ध निर्देशक गणेश रानाले बताए । कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक–शिक्षिका तथा कर्मचारीहरू सबै नेपाली जातजातिका परम्परागत पोसाकमा सजिएका थिए। लोप हुँदै गएको देउसी–भैलो खेललाई जगेर्ना गर्ने उद्देश्यले मौलिक शैलीमा खेल्न सिकाइएको उनले बताए ।
स्टार्स मन्टेश्वरी एकेडेमी २०६५ सालमा पखरामा स्थापना भइ २०६७ सालमा भरतपुर–११, मालपोतचोकमा पनि सञ्चालनमा आएको हो। विद्यार्थीहरूको चापलाई थेग्न नसकेर यसै वर्षदेखि भरतपुर–१२, थानीचोकमा एभरेष्ट प्रिस्कुल सञ्चालनमा ल्याइएको छ। धेरै विद्यार्थी भर्ना नपाएर फर्किनु नपरोस् भन्ने उद्देश्यले नयाँ शाखा खोलिएको हो। मालपोत चोक शाखाका प्रबन्ध निर्देशक गणेश रानाले विद्यार्थीको चापलाई व्यवस्थापन गर्न र आगामी वर्षहरूमा भरतपुरका अन्य स्थानहरूमा पनि शाखाहरू विस्तार गर्दै जाने योजना रहेको बताए।
रानाले बालबालिकाको प्रारम्भिक सिकाइ प्रभावकारी नभए बच्चाको बेस राम्रो नहुने कुरामा जोड दिँदै भने , साना बच्चालाई मानसिक तनाव नहुने गरी खेलविधिका माध्यमबाट सिकाइ गर्दा सिकाइ क्षमतामा बढ्न जान्छ जसले गर्दा बालबालिकाहरू माथिल्लो तहमा गएर स्वयं समस्य समाधान गर्न सक्षम हुन्छन् ।तसर्थ सानै उमेरमा सिकाइको जग बलियो बनाउन आवश्यक छ। बच्चालाई तनाव दिएर होइन, रमाइलो वातावरणमा सिकाउँदा मात्रै राम्रो ज्ञान दिन सकिन्छ।
उनले थपे, स्टार्स मन्टेश्वरीबाट अध्ययन गरेका विद्यार्थीहरू सबै क्षेत्रमा राम्रो नतिजा देखाउँदै आएका छन्। पहिलो ब्याचका विद्यार्थीहरू अहिले कक्षा १२ मा पुगेका छन्, र उनीहरू अब्बल देखिएका कारण नै स्टार्स मन्टेश्वरी अभिभावकहरूको पहिलो रोजाइ बनेको छ ।