चितवन, कात्तिक १४-
चितवनको तीन छुट्टा–छुट्टै स्थानमा गएराति भएका सवारी दुर्घटनाबाट चार जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–७ मर्स्याङ्दी टोलमा मंगलवार राति ९ बजेको समयमा ना ५२ प ४६९८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्याङ्जा वालिङ नगरपालिका–१ घर भई हाल भरतपुर–७ विकास चोक बस्ने वर्ष ३१ की शकुन्तला काफ्ले घाइते भएकी छन् । मोटरसाइकल चालक विकास चोक बस्ने वर्ष ५८ को दिल बहादुर थापा मगरले मादक पदार्थ सेवन गरेको र उनी पनि घाइते भएको प्रहरीले बताएको छ ।
काफ्लेको चाहिने हात र टाउकोमा चोट लागेको छ भने चालक मगरको टाउको र निधारमा चोट लागेको छ । दुवैको अवस्था मध्यम रहेको र मनकामना अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कालिका नगरपालिका–१ नमस्ते चोकमा मंगलवार राति १० बजेको समयमा खुकुरी चोकबाट आउँदै गरेको प्रदेश३–०३–००१ प ४१३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा चालक कालिका–१ बस्ने वर्ष ३३ को प्रकाश श्रेष्ठ मध्यम घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै, भरतपुर–१५ देवी चोकमा बिग्रिएर सडक छेउमा रोकि राखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक घाइते भएका छन् । मंगलवार राति १०ः५० बजेको समयमा रोकिराखेको प्रदेश १–०१–००१ ख ४०१० नम्बरको ट्रकमा मंगलपुरबाट रामपुरतर्फ जाँदै गरेको ना २५ प३५६२ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक भरतपुर–२० बस्ने बर्ष ५३ को देव अधिकारीको टाउकोमा चोट अवस्था लागेको प्रहरीले जानकारी दिएको छ । उनको अवस्था मध्यम रहेको र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।