चितवन, असोज २० –
चितवनमा जारी लन टेनिस प्रतियोगिताको फाइनल खेल दशैंपछि हुने भएको छ ।
प्रिमियर टेनिस एकेडमीको आयोजना र एसडी इभेन्ट म्यानेजमेन्टको सह आयोजनामा एकेडमीको ग्राउण्डमा असोज १० देखि प्रतियोगिता सुरु भएको थियो । खेलमा सेन्ट्रल कलेजले मुख्य प्रायोजन गरेको छ ।
एकेडमीका सञ्चालक एवम् टेनिस प्रशिक्षक कुमार जंग क्षेत्रीका अनुसार सिंगल पोल (एकएक जना खेल्ने) र डबल पोलमा (दुईदुई जना खेल्ने) खेल सुरु भएको हो । खेलमा १५ खेलाडी सहभागी थिए । बिहान बेलुका गरेर खेलेर ४ दिनमा सक्ने भनिएको प्रतियोगिता वर्षातका कारण एक हप्तासम्म रोकिएको थियो ।
वर्षातपछि सुरु भएको खेल सेमिफाइनलसम्म पुगेको छ । अब दशैंपछि फाइनल खेल हुने जानकारी दिँदै प्रशिक्षक क्षेत्रीले मिति भने अहिले तय नभइसकेको बताए ।
चितवनमा टेनिस खेल विकासका लागि भन्दै कुमार जंग क्षेत्रीले प्रिमियम टेनिस एकेडमी खोलेका छन् । पारस बसपार्क (केन्द्रीय बस टर्मिनल) मिलन चोकमा गुरुकुल स्कुलको अगाडि उनले ग्राउण्ड बनाएर टेनिस सिकाइरहेका छन् । टेनिस प्रतियोगितामा उक्त एकेडमीमा सिकिरहेका खेलाडीहरुको सहभागिता रहेको थियो ।
चितवनमा पहिलो पटक खुलेको टेनिस एकेडमीले चितवनबाट टेनिसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छ ।