चितवन, असोज १२
नारायणगढ-मुग्लिन-नागढुङगा सडकखण्डमा भोलिसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ । वर्षाका कारण पहिरोको जोखिम कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले सडक आवागमनमा रोक लगाएको हो ।
प्रशासकिय अधिकृत अन्तिम सिंजालीले आज एक सुचना जारी गर्दै बिहिबारदेखि अविरल परेको वर्षाका कारण सडकखण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको जानकारी दिनुभयो । प्रशासकिय अधिकृत सिंजालीले जारी गरिएको सूचनामा ‘नारायणगढ-मुग्लिन-नागढुङगा सडकखण्ड पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई उक्त सडकखण्डमा सवारी सञ्चालनमा पूर्ण रोक लगाईएकोले सम्पूर्ण सवारी धनी एवम् यात्रुलाई सो सडकखण्ड हुँदै सवारी नचलाईदिनुहुन तथा यात्रा नगरि यथास्थानमै बसि सुरक्षित रहनुहुन अनुरोध छ’ भनिएको छ ।
काठमाण्डौँतर्फ जान हिँडेका सवारी साधनलाई भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित आँपटारीमा रोक लगाइएको छ भने मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिएको छ।
आज बिहान इच्छाकामना–३ मौवाखोला, पानीधारा र दतिखोलामा पहिरो खसेर सडक नारायणगढ-मुग्लिन सडक पूर्ण रुपमा अवरुद्द भएको थियो । त्यस्तै, मुग्लिन-नागढुङगा सडक खण्डको मौवाखोला, घोप्टेभिर, नौँ किलोलगायतका स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
बिहिबार रातिदेखि परिरहेको अत्यधिक वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।