चितवन, असोज ११-
नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन नपाइने भएको छ ।
नारायणगढ-मुग्लिन सडकमा पहिरोको जोखिम आंकलन गरि जिल्ला सुरक्षा समितिले आज बेलुका ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्मा गाडी चलाउ नदिने भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए ।
बिहिबार रातिदेखि परिरहेको अत्यधिक वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । आगामी २४ घण्टाका लागि देशभर नै मनसुन सक्रिय रहने सम्भावना छ । मौसमविद गोविन्द झाका अनुसार देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ ।
ती क्षेत्रमा वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र डुबानको जोखिम छ । साथै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्ने र कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा पनि आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।
















