रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

– हिरालाल आचार्य ‘डायमण्ड’ – (चितवन आज)
चितवन, भदौ २६ –
कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन (एएफयु)मा भदौ १३ गते अनेरास्ववियु र नेविसंघमा आवद्ध विद्यार्थीहरुबीच झड्प भएदेखि विश्वविद्यालयमा पठनपाठन ठप्प छ । झड्प भए यता दुबै संगठनले विज्ञप्ति निकाल्दै एकले अर्कालाई आरोप लगाइरहेका छन्, भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले अनेरास्ववियु र नेविसंघका विद्यार्थीबीच झड्प हुँदा नेविसंघका ५ जना र अनेरास्ववियुका ३ जना विद्यार्थी घाइते हुँदा त्यही दिन अस्पताल लगिएको जानकारी दिए । भोलिपल्ट पनि चोटपटक लागेको भनि केही विद्यार्थीहरु आए पनि तीनलाई घाइतेको आँकडामा नराखिएको उनले बताए ।

नेविसंघमा आवद्ध विद्यार्थी प्रितम भण्डारी र कमन दाहालको अहिले पनि काठमाडौंमा उपचार भइरहेको हो । प्रहरी निरीक्षक केसीका अनुसार प्रितमको टाउकोमा चोट लागेको छ भने कमनकोे नाक र आँखामा चोट लागेको छ ।