महोत्तरी – सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा नेकपा (एमाले) का सांसद लक्ष्मी कोइरी महतोले सफाइ पाएका छन्।
महोत्तरी जिल्ला अदालतले बिहीबार सांसद कोइरीलाई सफाइ दिने आदेश दिएको हो। मधेश प्रदेश सभा सदस्यसहित सात जनालाई भने अदालतले जन्मकैद फैसला सुनाएको छ।
प्रदेश सभा सदस्य तथा लोसपा संसदीय दलका नेता अभिराम शर्मा, प्रदीप साह माझी, संजय साह, शंकर साही, सुरेश पाण्डेय र धम्रेन्द्र रायलाई जन्मकैदको फैसला सुनाइएको हो।
न्यायाधीश उद्धवप्रसाद भटराईको एकल इजलासले फैसला गरेको हो।
विकको कर्तव्य ज्यान मुद्दामा मुख्य आरोपी पवन कापर र प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन्।
२०७२ भदौ २५ मा भएको असई विक हत्या प्रकरणमा एमालेका प्रतिनिधिसभा सदस्य महतोसहित २८ जनाविरुद्ध ०७५ साउन २८ गते कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो।
सो मुद्दामा लोसपा मधेस प्रदेश संसदीय दलका नेता शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र राय साधारण तारेखमा छुटेका थिए।
एमालेका प्रतिनिधिसभा सदस्य महतो र मोहन ठाकुर तारिख गुजारेर बसेका थिए। यसका साथै एम्बुलेन्स जलाएको अभियोगमा समेत उनीहरुविरुद्ध मुद्दा चलाइएको थियो।
त्यस मुद्दामा पनि कापर र सांसद महतोले सफाइ पाएका छन्। कर्तव्य ज्यान मुद्दामा सजाए पाएका सात जनालाई भने ६ महिना कैद र १०/१० लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश गरिएको छ।
२८ जनामध्ये हाजरी भएका ९ जनाको मुद्दामा महोत्तरी जिल्ला अदालतले फैसला गरेको र १९ जनाको मुद्दा मुल्तवीमा राखिएको महोत्तरी जिल्ला अदालतका सूचना अधिकारी महेन्द्र झाले बताए।
यो मुद्दाका १९ जना अभियुक्तहरु अझै फरार छन्। रमेशप्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, बिकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, सम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार छन्।








