काठमाडाैं मंसिर २७,
विप्लव नेतृत्वको नेकपा माओवादी छाडेर रसियन सेनामा भर्ती भएका डायमण्ड सी म्याग्देलीले युद्धमा चुनौती भएपनि कहिल्यै हार नमान्ने बताएका छन् । अवैध बाटोबाट करिब २०० नेपाली रसियन सेनामा भर्ना भएको र उनीहरुलाई लडाइँको अग्रमोर्चामा खटाइएको बताइँदै आएको छ ।
तर, म्याग्देलीले पुटिनको सिपाहीको रूपमा बन्दुक बोकेको प्रति कुनै गुनासो नरहेको बताएका छन् । ‘युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार बनाएर सामाजिक सञ्जाल–मिडियाहाउसहरूमार्फत रुसविरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी–युरोपियन गठबन्धन एवम् तिनका एजेन्ट हरूको मतियार बन्न सकिन्न।न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चात्ताप छ न त आज भिन्न उद्देश्य सहित लेनिनको देशमा पुटिनको सिपाहीको रूपमा बन्दुक बोकेको प्रति कुनै गुनासो छ’, उनको भनाइ छ, ‘आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन।जोखिमपूर्ण यात्राको पाइला पाइलामा चुनौती त छ नै यद्यपि हार कहिल्यै मानिँदैन,गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ।’
उनले हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमूल परिवर्तनको लागि बन्दुक बोकेर झन्डै १ दशक रगत र पसिना बगाइएको पनि स्मरण गरेका छन् । त्यसको अंशमा केही परिवर्तन भएपनि समग्रमा दलाल राज्यसत्ताको मूल चरित्रलाई विस्थापित गर्न नसकेको उनको भनाइ छ । ‘परिणामतः आज पनि सत्ता–शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पुँजीपतिहरूकै जगजगी छ, परिवर्तनको लागि दशकौँ योगदान गरेका हजारौँ योद्धाहरू आज परिवार पाल्नकै लागी विदेशका गल्ली गल्लीमा भौँतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ । यही कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।
पृष्ठभूमि, कथा र व्यथा भिन्न भिन्न भएपनि बाध्यताले डोहोर्याएका नेपाली युवाहरू अहिले रसियन सेनामा भर्ती भई युद्धको मोर्चामा खटिएको उनको भनाइ छ।
उनले कतिपय नेपाली अहिले पनि रसियन सेनामा भर्तीका लागि दलालको विश्वासमा परेर रुस जान चाहेको आफूले सुनेपनि अहिले भर्ती बन्द भएकाले विश्वासमा नपर्न आग्रह गरेका छन् ।








