काठमाडौँ, ४ मङ्सिर
टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटको सुनुवाइ आज (सोमबार) न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुन लागेको हो ।
गएको कात्तिक २७ गते मन्त्रिपरिषद्बाट टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्चमा १० रिट दर्ता गरिएको थियो ।
टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुइँटेल, सुनीलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्द र कानुनका विद्यार्थी परशुराम पाण्डेले रिट दर्ता गरेका हुन् ।