काठमाडौं, २८ साउन
नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामासहित ४५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई ललितपुर प्रहरीले विभिन्न मागहरु राख्दै तालाबन्दी गर्न खोजेको भन्दै पक्राउ गरेको हो ।
ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहका अनुसार निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामासहित ४५ जना भन्दा बढी निर्माण व्यवसायीहरू आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका थिए । सरकारी कार्यालयमा तालाबन्दी गर्न खोजेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको उनले बताए ।
ललितपुर प्रहरी प्रमुख शाहले भने, ‘सरकारी कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्न खोज्नुभयो । धर्ना बस्न पाइयो तर तालाबन्दी गर्न त पाइएन नि ।’ पक्राउपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको उनले जानकारी दिए ।
निर्माण कार्य सम्पन्न गरिए पनि त्यसको भुक्तानी नपाएका निर्माण व्यवसायीहरूले विभिन्न माग राख्दै केही दिनदेखि आन्दोलन गरिरहेका छन् । निर्माण व्यवसायीहरू महासंघद्वारा घोषित तेस्रो चरणको आन्दोलनअन्तर्गत सरकारी कार्यालयमा ताला लगाएर धर्ना बस्न पुगेका थिए ।