भोजपुर साउन २७,
जंगलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो ।
परिवारसँग निगुरो टिप्न झ्यालसिङे जंगलमा गएका तामाङलाई बिहीवार बिहान १० बजे सडकभन्दा करीब २०० मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो ।
ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीवारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखेका थिए ।
खोजी गर्ने क्रममा नयाँ श्रीनाथ गण भोजपुरका सहसेनानी, सञ्जीव खत्री, नेपाल प्रहरीका प्रहरी निरीक्षक अर्जुन अधिकारी र सशस्त्र प्रहरी बल ५ नम्बर गुल्म टक्सारका प्रहरी निरीक्षक हरिकृष्ण गिरीको कमाण्डमा गएको सुरक्षा निकायको संयुक्त टोली र स्थानीयको समूहले शुक्रवार तामाङलाई मृतावस्थामा फेला परेका हुन् ।
मृतक तामाङको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।