काठमाडौं, साउन २२
लाइसेन्स परीक्षाको प्रश्नपत्र आउट गरेको घटनामा संलग्न ५७ जनालई नेपाल नर्सिङ काउन्सिलले करबाही गरेको छ । काउन्सिलले प्रहरीको प्रतिवेदनलाई आधारमा मान्दै ती विद्यार्थीलाई कारबाही गरेको हो ।
कारबाही गरिएकामध्ये ५० जनाको परीक्षा नतिजा स्थगित गरिएको छ भने सातजनालाई तीन वर्षसम्म नर्सको लाइसेन्स परीक्षामा सामेल हुन नपाउने निर्णय गरिएको काउन्सिलले जनाएको छ ।
तीनवर्षे कारबाही गरिएका सातजना प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न भएको पाइएको छ । तीमध्ये चारजना अझै फरार छन् । पक्राउ परेका तीनजनालाई जिल्ला अदालत काठमाडौंले जनही १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुुमुद ढुंगेलले जानकारी दिए ।
कास्कीको लेखनाथकी २० वर्षीया समीक्षा थापा, लेखनाथकै २० वर्षीया भावना गुरुङ र धादिङको त्रिपुरासुन्दरीकी २३ वर्षीया सविना आलेलाई प्रहरीले पक्राउ गरेको थियो । गएको शुक्रबार उनीहरू रिहा भएका एसपी ढुंगेलले बताए ।
काउन्सिलले उनीहरू र अरू चारजना तथा नर्सिङ तयारी कक्षा पढाउने पोखरास्थित अलब्राइट इन्स्टिच्युटविरुद्ध जाहेरी दिएको थियो । प्रहरीका अनुसार बाँकी चारजनालाई फरार प्रतिवादी बनाइएको छ । घटनाको अनुसन्धान प्रतिवेदन काउन्सिललाई बुझाइसकेको प्रहरीले जनाएको छ ।
असार २३ गतेको लाइसेन्स परीक्षा चलिरहेका बेला अलब्राइट इन्स्टिच्युटको म्यासेन्जर ग्रुपमा प्रश्नपत्र पठाइएको र सो म्यासेज केही समयमै ४०० भन्दा बढी व्यक्तिले ‘सिन’ गरेको पाइएको काउन्सिलकी अध्यक्ष सरला केसीले बताइन् ।
सोही दिन बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट, ललितपुरस्थित लिटिल एन्जल्स स्कुल र वाग्मती कलेज काठमाडौं केन्द्रबाट प्रश्नपत्र बाहिरिएको थियो । सो दिनको परीक्षा नतिजा काउन्सिलले एक महिना स्थगित गरी आइतबार मात्र सार्वजनिक गरेको थियो ।