काठमाडाैं जेठ २४,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको जमिन बंगलादेश जाने फुलबारी नाकाको जमिनसँग सट्टापट्टा गर्ने कुरा आफूले प्रस्ताव नगरेको स्पष्ट गरेका छन् ।
बुधवार राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री प्रचण्डले औपचारिक बैठकमा जमिन सट्टा पट्टाको कुरा नगरेको स्पष्ट पारेका हुन् ।
सीमा समस्या समाधान गर्न सरकारले विभिन्न समयमा गठन गरेका समितिले पनि त्यस्तो सुझाव दिने गरेको उनले बताए । ‘नेपालका पत्रकारसँग कुरा गर्दा बंगलादेश जाने बाटो पाउने हो भने समाधान हुनसक्छ कि भनेर बोलेको हो । भारतसँग प्रस्ताव राखेको होइन,’ प्रचण्डले भने, ‘यो विकल्पबारे नेपालमा एउटा-दुइवटा बुद्धिजीवीले मात्र होइन, सरकारले नै समय समयमा अध्ययन गराउने गरेको छ । त्यो अध्ययन गरेका बुद्धिजीवी विशेषज्ञले सट्टापट्टा गर्न सकिन्छ भनेको उहिलैदेखि हो । मैले आविस्कार गरेको या प्रस्ताव गरेको होइन । यस्तो उपलब्धीपूर्ण भ्रमणलाई ओझेल पार्नेगरी यसलाई अतिरञ्जित ढंगले तर्क गर्नु उचित हुँदैन ।’
भारत भ्रमणका दौरान प्रचण्डले भूमि सट्टापट्टा गर्ने विकल्पबारे नेपाली पत्रकारहरूसँग बोलेका थिए । सो प्रस्तावलाई लिएर संसदमा प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रधानमन्त्रीको जवाफ माग गरेको थियो ।
प्रचण्डले नेपाल भारत सम्बन्धलाई सन् २०१४ भन्दा अगाडिको अवस्थामा पुर्याउने कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै प्रस्ताव गरेको प्रचण्डले दावी गरे ।
‘दुइ देशको सम्बन्धलाइ खुलस्त र विश्वासको वातावरण बनाउने हिसावले गरेकोले मैले भन्दा पहिला मोदीजीले नै सीमा ससमस्या समाधान गरिन्छ र नेपाल भारत सम्बन्ध सन् २०१४ सालभन्दा पहिलाको अवस्थामा पुर्याउने भन्नुभएको हो । सन् २०१४ मा नेपालको संसदमा आउँदा हिटको कुरा गनुभएको थियो, अहिले सुपरहिटको कुरा गर्नुभयो’ प्रचण्डले भने, ‘कुटनीतिक होइन, उहाँको बडी ल्याङग्वोजले नै बताउँथ्यो । नेपाल भारत सम्बन्ध हिमाल जत्तिको इचाइमा पुर्याउने हो भनेर भारतको शक्तिशाली प्रधानमन्त्रीले सीमासम्बन्धी समस्या समाधान गरिन्छ । नेपाल भारत सम्बनधलाई सुपरहिट बनाइन्छ भनेको पहिलो पटक हो, यो गर्दा पनि सबै छाडेर आइस भन्ने कुराको त दवाई छैन ।’