रूपन्देही जेठ २३
पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । पछिल्लो ५ महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल ४ लाख ७० हजार ५४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन् ।
सन् २०२२ को जनवरीदेखि मे महिनासम्म ३ लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षकोभन्दा यस वर्षको संख्या १ लाख ८ हजार ४८६ जनाले बढी छ ।
सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार ४१३ जना राहदानी लिएका, ३ लाख २४ हजार २६८ नेपाली र १ लाख ११ हजार ८६१ भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्यांक छ । गत वर्ष २ हजार ६८७ राहदानी लिएका, २ लाख ८९ हजार ५९४ नेपाली र ६९ हजार ७७५ भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ ।
५ महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका ८ हजार २४७, श्रीलंकाका ५ हजार ७२१, म्यान्माका ५ हजार ३९८, भियतनामका ३ हजार २३५, कोरियाली २ हजार ६२९, चिनियाँ १ हजार २०८ र अन्य देशका ७ हजार ६७५ जना राहदानीका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।
गत वर्ष सन् २०२२ मा यिनै ५ महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका राहदानी २ हजार ६८७, नेपाली २ लाख ८९ हजार ५९४ र भारतीयको संख्या ६९ हजार ७७५ रहेको थियो । तेस्रो मुलुकका राहदानी लिएकाको गणना गर्दा भियतनामी ६ हजार ९२३, थाई ४ हजार ३८०, श्रीलंकन १ हजार ८८५, म्यान्मा १ हजार ४९५ तथा अन्य ९ हजार २५९ रहेका छन् ।
कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका १ हजार १९७ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२० को जनवरीमा १३ हजार १०७, फेब्रुअरीमा २१ हजार ६६७ र मार्च महिनामा ८ हजार ३६३ जना, नोभेम्बरमा ३ र डिसेम्बर महिनामा २३ तथा विशिष्ट २ हजार १६६ गरी कूल ४५ हजार ३२९ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए ।
सन् २०२१ मा ४ लाख ६३ हजार ६६३ जना नेपाली र ४३ हजार ७३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२० मा २ लाख १० हजार ३३ जना नेपाली र ३७ हजार २०६ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका कोषले उपलब्ध गराएको सूचनामा उल्लेख छ ।
त्यसअघि २०१९ मा नेपाली, भारतीय र तेस्रोमुलुक गरी कूल १५ लाख ५८ हजार ३२६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । यो स्थानलाई बौद्धधर्मको जन्मस्थल मानिन्छ र विश्व सांस्कृतिक धरोहरस्थलको सूचीमा युनेस्कोले समावेश गरेको छ ।
यहाँ हालका वर्षमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायले पनि वृद्धि गरेको लुम्बिनी पर्यटन व्यवसायी संघका अध्यक्ष हुसेनी लोधले बताए ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी ९भिक्षु मेत्तेय०ले लुम्बिनीमा पर्यटक संख्याको वृद्धि पर्यटन उद्योगका लागि एक सकारात्मक सन्देश रहेको बताए ।
उनले भने, ‘यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँछ भने रोजगार र आयसम्बन्धी अवसर प्रदान गर्दछ ।’