काठमाडाैं जेठ २२
एमाले सांसद ठाकुर गैरेले सरकारले तीन जिल्लामा ४० प्रतिशत बजेट हालेको दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गोरखा, कांग्रेस सभापति शेरबहादुर देउवाको डडेल्धुरा र अर्थमन्त्रीको नुवाकोट जिल्लामा बजेटको ४० प्रतिशत हालेको दाबी गरेका हुन् ।
‘बजेटमा बढी पाउने सांसदले भोज गर्ने र कम पाउने निन्याउरो भएर बस्नुपरेको छ । सरकारले देश र सिंगो नेपालीलाई एउटै आँखाले हेरेको छैन’ गैरेले भने, ‘सरकारले डडेल्धुरा, गोरखा र नुवकोटलाई मात्रै नेपाली देख्छ । यही आँखाबाट बजेटको विकास गरिएको छ ।’
प्रमुख नेताको क्षेत्रलाई मात्रै प्राथमिकता दिनु खेदजनक रहेको र अन्यायपूर्ण भएको उनको भनाई छ ।
‘देशका तीन जिल्लामा ४० प्रतिशत बजेट लाने तर अरुलाई निराशा बनाउने भएको छ । यो रवैया मान्य छैन । यसबाट ब्याक हुनुस्’ गैरेले भने, ‘बजेट गर्नुपर्ने हो त्यो गरेन । नगर्नुपर्ने गर्यो । विश्वास गुमाउने र समाप्त गर्ने काम मात्रै भएको छ ।’
अघिल्लो वर्ष तार काट्ने र सिसीटिभी हराउने जस्तो भएको र यसपटक निश्चित घरानाकालाई करमा छुट दिने विषय बाहिरिनु दुःखद् भएको उनको भनाई छ । केही व्यापारीका निश्चित स्वार्थलाई पूरा गर्ने गरी करको दायरा निर्धारण गरिएको आरोप उनले लगाए ।
बजेटका शीर्षक, प्राथमिकता, बजेटको खर्च विनियोजनको शैली उचित नभएको भन्दै उनले सच्चाउन माग गरेका छन् ।