काठमाडौँ,चैत १५-
बैतडीका पशुचौपायामा लम्पी स्कीन रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी पन्तले जानकारी दिए ।
पाटनका किसानले पालेका पशुचौपायामा यो रोगको लक्षण देखापरेपछि परीक्षण गर्दा लम्पी स्कीन भएको प्रमाणित भएको प्रमुख पन्तको भनाइ छ । उनले भने, “गत मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखा प¥यो, परीक्षण गर्दा गत फागुनमा यो रोग भएको प्रमाणित भयो ।”
सुरुमा पाटनमा मात्रै देखापरेको यो रोग हाल जिल्लाको शिवनाथ र सूर्नया गाउँपालिका तथा मेलौली नगरपालिकामा देखिएको छ । जिल्लाका सबै स्थानीय तहमा यो रोगको सङ्क्रमण देखापरेको भए पनि पाटन, मेलौली, शिवनाथ सूर्नयामा प्रकोपकै रूपमा देखापरेको प्रमुख पन्तले बताए । उनले भने, “यी चार पालिकामा यो रोग प्रकोपकै रूपमा देखापरेको छ, दैनिक १५ देखि २० पशुमा देखिएको खबर आउने गरेको छ ।”
गाई, गोरु, भैँसीमा यो रोग देखापरेको भए पनि गाई र गोरुमा बढी सङ्क्रमण देखापरेको बताइएको छ । सङ्क्रमण बढेपछि पशुचौपाया मर्ने गर्दछन् । सङ्क्रमण बढिरहेको भए पनि हालसम्म पशु भने मरेको तथ्याङ्क नआएको केन्द्रले जनाएको छ ।