काठमाडौं चैत १५,
एक महिनादेखि १६ मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले दुई चरणमा सरकार विस्तार गर्ने तयारी गरेका छन् ।
सरकार विस्तारका क्रममा दलहरूबाट मन्त्रालयको संख्यामा आफ्नो प्रस्तावभन्दा बढी दाबी पर्न थालेपछि प्रधानमन्त्री प्रचण्डले तत्काल केही मुख्य मन्त्रालयमा मन्त्रीको सपथ गराउने र थप छलफल गर्दै अर्को चरणमा मन्त्रीहरू थप गर्ने नीति लिएका हुन् ।
पहिलो चरणमा गृह, अर्थ अन्य एक(दुई मन्त्रालयमा मन्त्री चयनको तयारी प्रधानमन्त्रीले गरेका हुन् ।
कांग्रेस नेता रमेश लेखकले दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल गरिरहेको जानकारी दिए ।
‘तत्काल केही प्रभावशाली मन्त्रालयमा मन्त्री चयन गरेर बाँकी फेरि अर्को चरणमा गर्ने भन्नेमा छलफल भइरहेको छ’ लेखकले भने, ‘भोलिसम्म पहिलो चरणको सरकार विस्तार हुन्छ ।’
जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि तत्काल अर्थ, गृहसहित सबै दलका एक एक जनालाई मन्त्री बनाएर अर्को चरणमा फेरि सरकार विस्तार गर्नेमा मंगलवार नै छलफल भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई ८, माओवादीलाई ५, रास्वपालाई ३, जसपा र नेकपा एसलाई २(२, लोसपा, जनमत, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट १(१ गरी मन्त्रालयको भागबन्डाको प्रस्ताव गरेका थिए ।
जसमा कांग्रेस, माओवादी र रास्वपालाई एक एक राज्यमन्त्री प्रस्ताव गरिएको छ ।
तर नेकपा एसले आफूहरूमा ३ वटा मन्त्रालय दिनुपर्ने अडान राखिरहेको छ । यतिमात्रै होइन प्रभावशाली मन्त्रालयमा पनि दलहरूले दाबी नछोडेपछि सरकार विस्तारमा भागबन्डामा सहमति जुट्न गाह्रो देखिएको हो ।
यसैले विकल्पस्वरुप प्रधानमन्त्रीले सपथ पनि गराउने र थप छलफल पनि गर्दै जाने नीति लिएका हुन् ।
यद्यपि पहिलो चरणमा नै छलफल गरी सहमति जुटाउने प्रयास पनि गर्ने तयारी प्रधानमन्त्रीको रहेको छ ।
यसैले आजै दिउँसो ३ बजे पुनः सत्तारुढ कांग्रेस, माओवादी, नेकपा एस, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्तिसहितका दलको बैठक बोलाइएको जानकारी लोसपाका नेता शरतसिंह भण्डारीले दिए ।
‘दल र नेताको दाबी कम नहुँदा बुधबार बिहान पनि सरकार विस्तारबारे ठोस सहमति भएन’, भण्डारीले भने, ‘तर सहमति नभए पनि आन्तरिक छलफल गरेर बुधबार दिउँसो ३ बजे फेरि बस्ने तयारी भएको छ ।’