विराटनगर चैत १५,
गत चैत ५ गते कोशी नामकरण खारेजीको माग गर्दै भएको आन्दोलनमा घाइते भएका पदम लिम्बूको मृत्यु भएको घटनाको छानबिन गर्ने समितिले काम शुरू गरेको छ ।
संघीय सरकारले चैत्र ११ गते सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति बनाएको थियो ।
समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ शरद पोखरेल, नेपाल प्रहरीका उपरीक्षक नवीनराज राई, सशस्त्र प्रहरीका उपरीक्षक राजेश उप्रेती, राष्ट्रिय अनुसन्धान आयोगका उपनिर्देशक शेरजंगबहादुर चन्द र उपसचिव कृष्णबहादुर शाही छन् ।
मंगलवारदेखि छानबिनको काम थालिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका छानबिन समितिका सदस्य शरद पोखरेलले बताए । ‘मंगलवार घटनास्थलमा गएर व्यापारी, स्थानीय वासिन्दा, नेपाल प्रहरीहरूका घाइतेहरूसँग बुझेका छौं,’ पोखरेलले भने, ‘बीपी प्रतिष्ठानमा पुगेर उपचारमा संलग्न डाक्टरहरूसँग पनि बुझ्ने काम गरेका छौं ।’
मोरङ र सुनसरीको जिल्ला सुरक्षा समितिसँग पनि छलफल गरेको उनले बताए ।
छानबिन समिति मृतक लिम्बुको घरमा भने पुग्न सकेको छैन । आन्दोलनकारीको अवरोधका कारण घरमा पुग्न समस्या भएको समितिले जनाएको छ ।
कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बूको चैत्र १० गते उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । फागुन १७ गते प्रदेशको नाम कोशी राखिएपछि पहिचान पक्षधरहरू आन्दोलित हुँदै आएका छन् ।